
३० साउन । कुवेतमा केही दिन अघि विषाक्त मदिरा सेवन गरेका कारण अस्पताल भर्ना भएका मध्ये ९ जना नेपालीले ज्यान गुमाएका छन् । तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको हो। अझै केहीको उपचार भइरहेको र केहीलाई भने डिस्चार्ज गरिसकिएको छ ।
नेपाली दूतावासले मृत्यु हुनेहरूको विवरण संकलन हुँदैगरेको र मृत्युको कारण मेडिकल रिपोर्ट नआउँदासम्म यकिन गर्न नसकिने जनाएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको पुष्टि गर्दै मेथानोल मदिरा सेवनका कारण स्वास्थमा समस्या आई बिरामीहरू कुवेतका विभिन्न अस्पतालहरुमा भर्ना हुने क्रम बढेको जनाएको छ।
यसरी भर्ना भएका मध्ये ९ नेपाली सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको र १ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको जानकारी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।
यसरी विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।
कुवेतमा मदिरा उत्पादन तथा विक्रि वितरण पूर्णरूपमा प्रतिबन्धित भए तापनि लुकिछुपी उत्पादन गरी बेचबिखन भएको पाइएको छ।